यी हुन् बढी उजुरी परेका प्रदेशका १० मन्त्रालय

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १६:५९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी परेका प्रदेशका १० मन्त्रालयको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उजुरी परेको अख्तियारले जनाएको छ ।

जुन मन्त्रालयविरुद्ध भ्रष्टाचारका कुल उजुरीको ३.७५ प्रतिशत उजुरी परेको अख्तियारले आइबार सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयविरुद्ध २.८१ प्रतिशत उजुरी पर्दा बागमतीको सोही मन्त्रालयविरुद्ध पनि २.६७ प्रतिशत मुद्दा परेको अख्तियारले जनाएको छ ।

यसैगरी कोशीको सोही मन्त्रालयविरुद्ध २.१९, कर्णालीको भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायातमात्र)विरुद्ध २.१७, लुम्बिनीको सामाजिक विकास मन्त्रालयविरुद्ध २.१०, कणालीको भौतिक पूर्वाधार विकास मन्त्रालय (खानेपानी मात्र)विरुद्ध २.०६ प्रतिशत उजुरी परेको छ ।

यस्तै मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयविरुद्ध १.९९ प्रतिशत तथा बागमतीको सोही मन्त्रालयविरुद्ध पनि १.८३ प्रतिशत उजुरी परेको अख्तियारले जनाएको छ ।

यस्तै बागमतीको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय(वन वातावरणमात्र) विरुद्ध १.८० प्रतिशत उजुरी गर्दा अन्य मन्त्रालय तथा निकायमा ७६.६४ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us