
काठमाण्डु ३० भदौ– आज आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गर्दै १५ मिनेटका लागि स्थगित गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक आइतबार ३ः १५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।
जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए । त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो ।
सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा सहमति जुट्न सकेन ।
माओवादीले सदन अवरोध जारी रहने बताइसकेको छ । त्यसकारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक हालसम्म सञ्चालन हुन सकेन ।