
काठमाण्डु ३० भदौ– एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन ।
आज (आइतबार) सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको पनि बताएका छन ।
उनले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि बताएका छन । तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको बताएका छन ।
उनले भने, ‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो ।’ उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताएका छन ।
तर, सत्तापक्षमा निचोडमा नपुगिसकेको उनले बताएका छन । सभामुखसहितको बैठकमा बर्तौलाले परियारले नै कुरा राखेपछि आफूहरूले उपसभामुखको राजीनामा मागेको बताएका थिए ।
प्रधानमन्त्री राष्ट्रसङ्घ जाने तयारी र सदनको अधिवेशन अन्त्य गर्नेबारे छलफल भइरहेका बेला बेमौसमी कुरा निकालेर प्रतिपक्षीले गिजोलेको आरोप लगाएका छन ।