सभामुखको कक्षबाट निस्केपछि माओवादी सांसदहरू जुटे छलफलमा

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १३:५० मा प्रकाशित

काठमाण्डु ३० भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल जारी छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

केही बेरअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सभामुख लगायत सत्तारूढ दलले बैठक सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

बैठकमा सहभागी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल पश्चात् निर्णय दिने जानकारी दिएर बैठकबाट निस्केका थिए । सोही कारण अहिले अनौपचारिक संवाद भइरहेको स्रोतले जानकारी दिएको छ । भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए ।

उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए ।

केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने भन्दै रुलिङ गरेका थिए । सोही विषयमा माओवादीले शुक्रवार दलको बैठक बसेर प्रतिकार गर्ने र सदन चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने अडान माओवादीको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us