‘एउटा केटो मनपरी बोल्छ’ भन्ने ओलीको टिप्पणीमा बालेनको जवाफः नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ

काठमाण्डु टुडे २०८१ भदौ ३० गते ९:०७ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री केपी ओली र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच जुहारी चलेको छ ।

ओलीले सार्वजनिक रुपमा एकपछि अर्को बालेन लक्षित टिप्पणी गर्दै आएका छन् ।

बालेन ओलीको जवाफ सामाजिक सञ्जाल फेसबुकबाट दिइरहेका छन् । शनिबार राजधानीमा एमालेद्वारा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्ने क्रममा बालेनतर्फ संकेत गर्दै ‘एउटा केटोले मनपरी बोल्ने’ गरेको टिप्पणी गरेका थिए । बालेनसँग जनमत रहेको र उनलाई चलाउन हुन्न भन्ने गरिएको भन्दै ओलीले नचाहिने प्रचारलाई स्थापित हुन दिए साँच्चै स्थापति हुने बताए ।

‘अहिले कहाँ एउटा केटो निस्कियो । त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे । नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ ? तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ’, ओलीले भनेका थिए ।

बोकेको बिरालोले मृग मार्न नसक्ने भन्दै ओलीले त्यस्ता भ्रमबाट मुक्त हुन पार्टी पंक्तिलाई निर्देशन दिए ।

ओलीको अभिव्यक्तिको जवाफ बालेनले राति सााजिक सञ्जालबाट फर्काए । उनले ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको संगीन आरोप लगाए ।

सोही कारण आफूले बाल दिवसको शुभकामना नदिएको उनको भनाइ थियो । ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छ, ग्रहण गर्नुहोला’ बालेनले लेखेका छन् ।

बालेनले ओलीको नामै लिएर फेरि अर्को पनि पोष्ट गरेका छन् । उनले भनेका छन्, ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’

बालेनले एमाले गण्डकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले एक १४ वर्षीया बालिकालाई कानूनविपरीत घरेलु मजदुर राखेको र यातना दिएको आरोप लगाउँदै आएका छन् ।

महानगर प्रहरीले केही समयअघि ती बालिकालाई शर्माको घरबाट उद्धार गरेको थियो ।

Screenshot

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us