
काठमाण्डु, २९ भदौ- प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रूपमा सहकारी रहेको बताएका छन् । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा बसेको बैठकमा सहभागी भएका ओलीले सरकारले अर्थतन्त्रको विकासमा सहकारीलाई प्राथमिकता दिएको बताए । विश्व अर्थतन्त्र संकटमा परेका बेला नेपालमा सहकारी अभियान सुरु भएको ओलीले स्मरण गरे । साना लगानी जम्मा गरेर सहकारीले रेजगारी सृजना र आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो । सहकारीको मर्म र सिद्धान्तअनुसार नियमसंगत रुपमा चलेका सहकारी संस्था अहिले पनि संकटमा नरहेको ओलीले बताए । नियममा बसेर सन्चालित सहकारी नडुब्ने दाबी ओलीले गरे ।
सहकारीप्रतिको विश्वास बढाउन सरकारले अनियमतता, बेथिति र ठगी नियन्त्रण गर्ने प्रतिबद्धता ओलीले जनाए । गैरसहकारी उद्देश्यका साथ सहकारी क्षेत्रमा प्रवेश व्यक्तिहरूले उक्त क्षेत्रमा क्विकृति निम्त्याएको ओलीले उल्लेख गरे । फरक प्रसंगमा ओलीले सहकारी छानबिन समितिले दिने प्रतिवेदन सरकारले पालना गर्ने प्रतिबद्धता जनाए । एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा गठित संसदीय छानबिन समितिले छिट्टै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।