
काठमाण्डु २९ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको बताएका छन ।
आज शनिबार मोरङको ग्रामथानस्थित नेताचोकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताएका छन ।
यस्तै उनले मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको बताएका छन ।
उनले इटाली र राष्ट्र संघको महासभामा गरेको सम्बोधनको विश्वमा चर्चा भएको दाबी गर्दै जसले नेपालको छविमा सुधार आएको पनि बताएका छन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएको उनले आरोप लगाए ।
तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको सातो अझै नफर्किएको दाबी गरे ।
अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप पनि लगाएका छन । पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस–एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताएका छन ।