
काठमाण्डु २९ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको दाबी गरेका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन ।
उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । उनले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काँग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण समेत गरेका छन । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनले बताए । उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन ।
हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो ।
कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताएका छन ।