
काठमाण्डु २९ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले एमालेले संसदमा जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति व्यक्त गरेका छन ।
आज (शनिबार) काठमाण्डुमा भएको धादिङ काठमाण्डु सम्पर्क समन्वय समितिले गरेको ८ औँ जिल्ला भेला कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन ।
उनले हजारौँ जनताको बलिदानीबाट आजको परिवर्तन आएको बताउँदै जनताको विषयमा गडबडी गरे प्रतिकार गर्न आग्रह समेत गरेका छन । उनले भने, ‘जुन जनयुद्धको बलमा आज राष्ट्रपति भएका छन्, प्रधानमन्त्री, मन्त्री भएका छन्, जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो छिँडीमा हुने थिए ।
उनीहरुले जनयुद्धलाई अपमान गरेको विरुद्ध आँधी बेहोरी सिर्जना गर्ने गरी तपाईंको हातमा कलम छ भने कलम चलाउनुस, कम्प्युटर, मोबाइल जे छ त्यसबाट प्रतिकार गर्नुस् ।
ती भरौटेहरू जो हिजो दुई चार जना मान्छे लिएर रत्नपार्कतिर घुम्दै थिए । जब जनयुद्ध र जनआन्दोलनको संयोजन भएपछि २५० वर्षको राजतन्त्र अन्त्य भयो, अहिले जे परिवर्तन भएको छ जनयुद्धको बलमा भएको छ ।’
उनले जनयुद्धबाट अझ अर्कै परिवर्तन चाहे पनि तत्कालीन अन्तर्राष्ट्रिय, राष्ट्रिय, राजनीतिक परिस्थितिका कारण अहिलेको व्यवस्थाका लागि सहमति र सम्झौता गरेको पनि बताएका छन ।