एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै ओलीले पोखे असन्तुष्टि

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १५:२६ मा प्रकाशित

काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)लाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् ।

आज (शनिबार) काठमाण्डुमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो कटाक्ष गरेका हुन । ओलीले भने, ‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे, त्योसँग जनमत छ रे १ नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले, बोक्नेले बोकेकै छ त ।

बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ, यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि समेत जनाएका छन ।

उनले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे । उनले भने, ‘सबैभन्दा धेरै हाम्रै कार्यकर्ता छन्, सबैको हात हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ ।’

ओलीले थपे, ‘यो भएन त्यो भएन भन्ने, आफ्नै साथीभाइसँग लड्ने तर विरोधीसँग आँखा उठाएर हेर्न नसक्ने, बोल्न नसक्ने हुतीहारा अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उसको कमजोरी खोतल्दा आफ्नो पनि कमजोरी खोतल्देला भनेर बसेपछि कसरी हुन्छ लडाइँ रु आफूसँग भएका सबै अस्त्रहरू प्रयोग गर्नुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us