उपसभामुख हटाउने योजनाबाट कांग्रेस–एमाले पछि हट्छन्: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १५:०६ मा प्रकाशित

काठमाण्डु २९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ कांग्रेस र एमाले आफैं पछि हट्ने दाबी गरेका छन ।

आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताएका छन ।

उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नुहुन्छ होला ।’

उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माओवादीले गरेको सशस्त्र युद्धलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भएपछि उत्पन्न विवाद नटुंगिएसम्म संसद चल्न नदिने बताए ।

‘एमालेका साथीहरुले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रश गर्ने, अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ,’ उनले भने,‘ त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’

माओवादीले भट्टराईको मन्तव्यबाट ‘माओवादी हिंसा’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । तर सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन नपर्ने निर्णय सुनाएका छन् ।

पत्रकारसँग कुराकानीकै क्रममा प्रचण्डले राजनीतिमा एक्जिट (अवकाश) नुहने बताएका छन । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने बेला आएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us