
काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डुको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन् ।
यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरू जनतालाई दिन सरकार अग्रसर रहेको पनि बताएका छन ।
उनले भने, ‘तपार्ईँ व्यवसायीहरूले निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन ।
कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ, ‘तपाईँहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहरीकरणमा कमी हुनेछैन ।’