दाउरा सङ्कलन गर्ने क्रममा महाकालीले दुई किशोरलाई बगायो

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १३:०४ मा प्रकाशित

काठमाण्डु २९ भदौ– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले दुई किशोरलाई बगाएको छ । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिएका छन ।

हिजो दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीले बगाएको प्रहरीले जानकारी दिएको छ । तीमध्ये सौरभको शव फेला परेको छ ।

दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।

लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us