पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १२:३५ मा प्रकाशित

काठमाण्डु २९ भदौ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आ.व ०८०–८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको छ ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको उक्त विमानस्थल आर्थिक वर्ष (०७९–८० पुस १७) गते उद्घाटन गरिएको थियो । दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यका साथ उक्त विमानस्थल निर्माण भएको थियो ।

तर आर्थिक वर्ष (०७९–८०) को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको छ । गत आर्थिक वर्ष (०८०–८१) मा ५० अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकोमा जम्मा पाँचवटा उडान भएको पाइएको छ ।

यस्तै गत आर्थिक वर्ष (०८०–८१) मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५० उडान लक्ष्य राखिएकोमा १२० उडान मात्र भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us