काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री केपी ओलीले २०८१ सालभित्र बालबालिकामुक्त सडक बनाउने प्रतिबद्धता जनाएका छन् ।
६०औं बाल दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने घोषणा गरे ।
‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्’, ओलीले भनेका छन्, ‘यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं ।’
बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको उनको भनाइ छ । कतिपय बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा र मनोरञ्जन नपाएको उनले बताए । ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको शिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्ने उल्लेख गरे ।
बालिकालिकालाई पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्नेमा उनको जोड छ ।
बालबालिका मानव जातिका भविष्य भएको बताउँदै ओलीले तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्ने बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गरी उनीहरुलाई भविष्यको योग्य नागरिक बनाउनुपर्ने पनि उनले बताए ।