काठमाण्डुबाट उपचार गरेर फर्किएका आमाछोरी पुग्न पाएनन् घर

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १५:४२ मा प्रकाशित

काठमाण्डु २८ भदौ– गाउँपालिकाको जिप दुर्घटनामा परेर रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ ।

आज शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिएका छन ।

दुर्घटनामा जिप चालक भूमे गाउँपालिका–३ का प्रेम पुन घाइते भएका छन् । काठमाण्डुबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो ।

उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन्। ‘उपाध्यक्षज्यू दाँत दुख्यो भनेर उपचार गर्न जानु भएको हो। उहाँले आमालाई पनि स्वास्थ्य परीक्षण गर्न सँगै लैजानु भएको रहेछ,’ अध्यक्ष घर्तीले भने। वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए।

वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। तर वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए । उपचार गराएर घर फर्कदै गरेका उपाध्यक्ष, उनकी आमा र वडा नम्बर २ का अध्यक्षको मृत्युको खबरले आफूहरू मर्माहत भएको अध्यक्ष घर्तीले जानकारी दिए ।

गत बिहीबार उपाध्यक्षले आफूलाई फोन गरेको र बिहीबार फर्कने जानकारी गराएको उनको भनाइ छ। ‘वडाध्यक्षसँग भने हिजो बेलुकी ९ बजेतिर कुरा भएको थियो, उहाँले उपाध्यक्षज्यूसँगै आफू पनि आइरहेको जानकारी गराउनु भएको थियो,’ उनले भने। उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us