काठमाण्डु २८ भदौ– लगातारको वर्षापछि महाकाली नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्लामा बाढीको जोखिम उच्च रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिएका छन ।
दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिएका छन । उनले भने, ‘भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।’ प्रहरी निरीक्षक थापाले भने,“दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ । ’
दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एकरदुई परिवार विस्थापित भएको पनि उनले जानकारी दिएका छन ।
त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको प्रहरीले जानकारी दिएको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।