बागलुङमा सरकारी गाडी भिरबाट खस्यो, तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २८ गते ९:५१ मा प्रकाशित

बागलुङ, २८ भदौ– बागलुङको गलकोटमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका–२ भुङखानीमा रा१झ २०० नम्बरको पिकअप भ्यान शुक्रबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए ।

उनका अनुसार शव भिरमा अड्किएको अवस्थामा छ । धेरै अप्ठेरो ठाउँमा अड्किएका कारण शव निकाल्न कठिन भएको छ ।

दुर्घटनास्थलमा भेटिएका एक घाइतेको अवस्था गम्भीर छ । घाइतेलाई उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल लगिएको कँडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us