काठमाण्डु, २७ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन किन खोजिएको भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।
बिहीबार बिहान ओलीले प्रचण्ड र देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । प्रचण्डको सचिवालयका अनुसार ओली र देउवा दुवैले त्यस विषयमा स्पष्ट जवाफ दिएनन् ।
श्रोतका अनुसार प्रचण्डले दुई तिहाइका आडमा रानालाई उपसभामुखबाट हटाइए राम्रो नहुने चेतावनी ओली र देउवालाई दिएका छन् ।
संवैधानिक परिषदलाई आफू अनुकुल बनाउन रानालाई हटाउन खोजिएको चर्चा राजनीतिक बजारमा चलेको भन्दै उनले त्यसो भए गलत नजिर बस्ने र भविष्यमा काँग्रेस–एमालेलाई समेत राम्रो नगर्ने उनले बताए ।
शुक्रबार बस्ने भनिएको संवैधानिक परिषद् बैठकको तयारीस्वरुप प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग छलफल गरेका हुन् ।
‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि शुक्रबार नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो’, उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
काँग्रेस, एमालेसहित सत्ता पक्षका दलहरुले आचरणमा प्रश्न उठाउँदै रानाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
बुधाबार नै एक चौथाई सांसदको हस्ताक्षरसहित रानार्लाइ हटाउने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी थियो ।
तर, सरकारका सहभागी दलहरुको मात्र दुई तिहाई संख्या नपुग्ने भएपछि रोकिएको छ ।
प्रधानमन्त्री केपी ओलीले सरकारलाई समर्थन गरेर बाहिरै बसेका जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीलाई उपसभामुखविरुद्धको प्रस्तावमा सहयोग गर्न आग्रह गरेका छन् ।
ती दुवै दलले ओलीलाई बचन दिएका छैनन् । माओवादी र रास्वपाले भने रानालाई जबर्जस्ती हटाउन खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।