काठमाण्डु, २७ भदौ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डिपी) ले अमेरिकाले पछिल्लो समय नेपालको असंलग्न परराष्ट्र नीतिबारे चासो राख्न थालेको बताएका छन् ।
अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीलाई संसदीय सुनुवाईका क्रममा बिहीबार अर्यालले अमेरिकाको नेपाललाई हेर्ने बदलिँदो दृष्टिकोणबारे जानकारी राख्नुपर्ने भन्दै त्यसबारे प्रश्न सोधेका थिए ।
नेपाललाई हेर्ने अमेरिका दृष्टिकोण थाहा पाउन सक्नुपर्ने उनको भनाइ थियो । अमेरिकाले नेपाललाई कसरी हेरिरहेको छ ? हजुरको कुटनीतिक पहलबाट नेपालको सरकारले र नेपालको जिम्मेवार नेतृत्वले यो थाहा पाउनुपर्छ कि अमेरिकाले हामीलाई कसरी मूल्याङ्कन गरिरहेको छ ? रेग्मीलाई अर्यालले प्रश्न गरे ।
आफ्नो जानकारीमा रहेसम्म अमेरिकाले नेपालको असंलग्न परराष्ट्र नीतिबारे चासो राख्न थालेको अर्यालले बताए । उनले ७५ वर्षदेखि सहयोग गर्दै आएकाले नेपाल ‘प्रो अमेरिकन’ हुनुपर्ने दाबी अमेरिकी अधिकारीहरुले गर्न थालेको दाबी गरे । ‘नेपाल प्रो हुनुपर्ने तर डटडटडट छ, के भइरहेको छ नेपाल ? भन्न थालेका छन’, अर्यालले भने ।
जवाफमा रेग्मीले नेपालले असंलग्न परराष्ट्र नीतिबाट दायाँबायाँ गर्न नसक्ने बताए ।
आफू नेपालको संविधान र नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्रनीतिको पालना गर्न प्रतिबद्ध रहने उल्लेख गरे ।