ऋषि धमलाले चिप्लाएपछि नेकपा एसले सोध्यो मेटमणि चौधरीलाई स्पष्टीकरण

काठमाण्डु टुडे २०८१ भदौ २७ गते २१:१० मा प्रकाशित

काठमाण्डु, २७ भदौ– नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिवसमेत रहेका सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

चुच्चे नक्सामा समेटिएको लिपुलेकबारे विवादास्पद अभिव्यक्ति दिएको विषयमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो ।

चौधरीले दुई दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेकमा नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएका थिए ।

त्यस क्रममा चौधरीले लिपुलेकमा भारतले दाबी गरेको र उसकै भूमि भएको दाबी गरेका थिए । ‘गत भदौ २५ गते साँझ प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमा तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ उसको दाबी पुग्छ । भारतले लिन पाउँछ । कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेछ’, स्पष्टीकरण पत्रमा भेनिएको छ, ‘अनेकौं तथ्यहरूले उक्त भू–भाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भू–भाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै छ। त्यसविपरीत, मुलुकको अखण्डता र सर्वभौमसत्ताविरूद्ध तपाईंले किन बोल्नुभएको हो ?’ ।

चौधरीलाई पत्र प्राप्त भएको मितिले दिनभित्र अभिव्यक्तिका विषयमा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us