
काठमाण्डु, २७ भदौ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन ।
भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।
अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताएका छन ।
साख मूल्यांकनका लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली नेपाल आएको छ । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।