पूर्वाधारमा लगानी जुटाउन सहजीकरण गर्छौं: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १७:३९ मा प्रकाशित

काठमाण्डु २७ भदौ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारमा लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन ।

आज (बिहिबार) नेपाल इन्फ्रास्ट्रक्चर समिट–२०२४ का अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल निर्माणको मूल आधार पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास भएको पनि बताएका छन ।

पूर्वाधार विकासका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको भन्दै उनले भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनोट पूर्वाधार विकासको मुख्य चुनौती रहेको पनि बताएका छन । उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पूँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताए ।

उनले भने, ‘सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर छ ।’ उनले सरकार आफ्नो सम्पूर्ण सामर्थ्य उपयोग गरी २१औं शताब्दी अनुकूल र नागरिकको चाहना बमोजिम पूर्वाधार विकास एवम् निर्माणमा केन्द्रित हुन चाहेको पनि बताएका छन ।

आर्थिक तथा वित्तीय अनुशासन तथा वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवम् उपयोग गर्न चाहेको उनले बताएका छन । उनले सरकारको एक्लो प्रयासबाट मात्र पूर्वाधार विकासको काम पूरा गर्न सम्भव नभएको र यसमा निजी क्षेत्र, वाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवम् विकास साझेदार समेतको उत्तिकै भूमिका रहने बताएका छन ।

उनले भने, ‘सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षहरूबीचको अन्तर आबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको छ, ‘सरकारले यातायात, ऊर्जा, जलस्रोत, सूचना प्रविधि जस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ ।’

उनले पूर्वाधार विकासलाई प्रवर्द्धन गर्न, निजी लगानीलाई प्रोत्साहित गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भूमिका रहने पनि बताएका छन । ‘मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी प्रवाह विस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकूल नीति अवलम्बन गर्दै आएको छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us