पोखरा, २५ भदौ– सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।
पार्टीको गण्डकी प्रदेश बैठकमा सहभागी हुन आएका लामिछानेलाई बिरौटामा मंगलबार नाराबाजीसहित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले लामिछाने सहकारी ठग भएको भन्दै नाराबाजी गरे ।
सूर्यदर्शनको करोडौं बचत लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोरखा मिडिया नेटवर्कमा अपचलन भएको पुष्टि भइसकेको छ ।
लामिछाने स्वयंले सहकारीको रकम गोरखा मिडियामा आएको स्वीकार गरे पनि आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाएर १ अर्ब ११ करोड रुपैयाँ बिगो दाबीसहित गत असोजमा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।