रास्वपाद्वारा काँग्रेस–एमालेलाई चेतावनीः याद राख्नुस् सधैं तपाईंहरुले जित्नुहुनेछैन, आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १३:५० मा प्रकाशित

काठमाण्डु, २५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरलाई आचरणको विषय उठाएर हटाउने तयारी गरेको विषयमा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ पार्टी र सरकार लोकतन्त्रमाथि आक्रमण गर्न उद्धत रहेको आरोप लगाए ।

संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेको मसिहा भन्ने राजनीतिक पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेको उनको भनाइ थियो ।

उक्त कलमले रास्वपा, उपसभामुख र लोकतन्त्रान्त्रिक प्रणालीलाई अप्ठेरो भए पनि दिर्घकालमा काँग्रेस–एमालेलाई अप्ठेरो पर्ने परियारले चेतावनी दिए ।

‘जब शासकहरु भ्रष्ट हुन्छन् । जब शासन सत्ताले राज्यका सबै अंग र निकायहरुर्लाइ निकम्मा बनाउँछ । त्यसपछि राज्यहरु असफल हुन्छन् । नेपाली मिडियामा आएका समाचार हेर्दा राज्य लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्दैछ’, परियारले भने, ‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा रानजनीतिक पार्टीहरु बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि मान्य हुन सक्दैन । म भर्खरै प्रजातन्त्रहरु कसरी मारिन्छन् भन्ने किताब पढिरहेको छु । किन निर्वाचित मानिसहरुले प्रजातन्त्र मार्छन् भन्नेबारे पढिरहेको छु । सम्मानित पदलाई संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेको मसिहा भन्ने राजनीतिक पार्टीहरु गुपचुपमा सल्लाह गरेर उपसभमुखलाई पदबाट हटाउने जुन सल्लाह गर्दै हुनुहुन्छ । स्मरण रहोस राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्धा गुमाउला, यो देशले एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रका लागि रास्वपा सधैं लड्नेछ । जनताको पक्षमा लड्नेछ । के नेपाली लोकतन्त्र यति कमजोर हो ? के नेपाली लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो ? । राजनीतिक पार्टीहरु कुन संस्थालाई कसरी निकम्मा बनाउने भन्नेबारे सल्लाह गर्ने हो ? ।’

परियारले लोकतन्त्रमाथि धावा नबोल्न सत्ता पक्षलाई चेतावनी दिए । परियारले उपसभामुख रानालाई हटाइए जनताको बीचमा गएर प्रतिवाद गरिने चेतावनी दिए । ‘तपाईंहरुले आज जित्नुहोला । भोलि जित्नुहोला । आज सहज होला, भोलि अप्ठेरो तपाईंहरुलाई नै पार्न सक्छ । कृपया यो पछिल्लो पुस्ताको रानजीतिक चेतनाको राजनीति गर्ने रास्वपाले निरन्तर लोकतन्त्रका लागि ढाल भएर काम गर्नेछ । यो कुनै हाँस्ने र सल्लाह गर्ने कुरा होइन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने हामीलाई विश्वास छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास छ । तमाम नेपाली जनताहरु लोकतन्त्रका लागि सडकमा ओर्लनेछन् र राजनीतिक पार्टीहरुका विरुद्ध आन्दोलन गर्नेछन्’, परियारले भने । आफू लोकतन्त्रको विद्यार्थी भएको र नेपाली समाजलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर पेशा छाडेर रानजीतिमा आएको भन्दै परियारले यसरी आफ्नो पुस्ताको चेतनामाथि प्रतबिन्ध लगाउने, लोकतन्त्रलाई मार्ने र जनताको संवैधानिक अधिकार हनने गर्ने प्रयास हुन्छ भने आफूले खनेको खाल्डोमा काँग्रेस–एमाले आफैं फस्ने चेतावनी दिए । ‘

एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् । तपाईंहरुले आफैंले खनेको खाल्डोमा आफैं पर्नुहुनेछ । यो कुरा लेखेर राख्नुस् । म यो सदनलाई सभ्य बनाउनुपर्छ भन्ने मान्छे । यसरी जब राजनीतिक पार्टीहरु नै लोकतन्त्रलाई कमजोर बनाउन लाग्छन् । तब जनताको एउटा मात्र ठाउँ हुन्छ त्यो हो सडक । आजको दिनमा यति मात्र भन्न चाहन्छु । हामीले खबर मात्र सुनेका छौं । तपाईंहरुको फोटोहरु मात्र आएका छन् । समाचारहरु पनि आएका छन् । संख्याका नाममा मात्रै सत्ता र शक्तिका नाममा मात्रै राज्य चल्छ र यो राज्य गर्न सकिन्छ भन्ने तपाईंहरुको बुझाई हो भने म स्मरण गराउन चाहन्छु जनताको सार्वभौम सत्ताको अगाडि कुनै पनि सत्ता संसारमा टिेकको छैन, टिक्ने छैन’, परियारले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us