प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्ः १० रुपैयाँको चिया पिउँदा११ रुपैयाँ ३० पैसा थप शुल्क ?, यो भएन

काठमाण्डु टुडे २०८१ भदौ २५ गते ७:४७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पाँच हजार रुपैयाँसम्मको अनलाइन भुक्तानीमा शुल्क नलाग्ने व्यवस्था गुर्नपर्ने बताएका छन् ।

रिमालले सामाजिक सञ्जालमार्फत उक्त प्रस्ताव गरेका हुन् । सानातिना कारोबारमा समेत ११ रुपैयाँ ३० पैसा शुल्क लाग्ने व्यवस्था हटाइनुपर्ने उनको भनाइ छ ।

रिमालले चिया खाएको, साग किनेको जस्ता कारोबारमा समेत अनलाइन भुक्तानी गर्दा ११ रुपैयाँ ३० पैसा काटिने व्यवस्था सही नभएकाले ५ हजारभन्दा कम कारोबारमा त्यस्तो शुल्क लगाउन हुने वा नहुने भन्नेबारे सुझाव मागेका छन् ।

‘चिया खाएको, साग किनेको जस्ता साना कारोबारमा पनि ११ रुपैयाँ ३० पैसा काटिन्छ । १० रुपैयाँ तिर्दा २१ रुपैयाँ काटिने यस्तो त हुँदै भएन’, रिमालले लेखेका छन्, ‘मलाई यो गुनासो जायज लाग्यो । पाँच हजारभन्दा थोरै कारोबारमा यस्तो शुल्क नलगाउनु राम्रो हुन्छ कि ? सबैको सुझाव चाहन्छु ।’

१० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरूले १० रुपैयाँ चार्ज लगाउने गरेको र त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिने गरेको गुनासो आइरहेको रिमालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us