
चितवन, २४ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस सबैको साझा घर रहेको भन्दै बिग्रिन लागेको घर सबै मिलेर सम्हाल्नुपर्ने बताएका छन् ।
सोमबार चितवनमा कांग्रेसले जननायक वीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा गरेको विशेष सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेस सबैको घर भएको र आफूहरूले त्यसलाई बिग्रन नदिने बताए ।
‘घरमा केही फोहोर देखिएको थियो । त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ’, उनले भने ।
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए ।
निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उनले जोड दिए ।
अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने भन्दै उनले गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले एक्लै चुनाव लड्ने निर्णय लिएको उल्लेख गरे ।
केन्द्रीय समिति बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको भन्दै अब विगतमा जस्तो पार्टी माथि बिग्रिँदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको बताए ।