सरकारमा बसेर गरेको काममा ममाथि कसैले दाग लगाउन सक्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ २४ गते २०:३८ मा प्रकाशित

सप्तरी, २४ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बेदाग सरकारबाट बाहिरिएको बताएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ रक्साहामा माओवादी सशस्त्र जनयुद्धका शहीदहरु दुर्गाराज पौडेल र उपेन्द्र कोइरालाको शालिक अनावरण गर्दै सोमबार उनले सरकारमा बसेर गरेका कामबारे आफूमाथि कसैले दाग लगाउन नसक्ने दाबी गरे ।

देश र जनताको पक्षमा काम गरिरहेका बेला हठात सरकारबाट बाहिरिनुपरेको उनको भनाइ थियो ।

नक्कली शरणार्थी प्रकरणका दोषी, भूमाफिया तथा दलाल र बिचौलियाविरुद्ध कारबाही अघि बढेपछि सरकार ढालिएको उनले बताए ।

प्रचण्डले आफ्नो सरकारले नै मधेसमा बिकराल समस्याका रुपमा रहेको नागरिकता समस्या समाधान गरेको उल्लेख गरे ।

फरक प्रसंगमा उनले शहीदको रगतबाट प्राप्त राजनीतिक उपलब्धी उल्ट्याउन खोज्ने प्रयास सफल हुन नदिइने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us