रिसको झोकमा दुई थप्पड हिर्काउँदा छोरीको मृत्यु, आमा पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २४ गते २०:१२ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– ललितपुरमा २३ महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीकी २१ वर्षीया प्रमिला भण्डारी रहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार प्रमिलाले २७ साउनमा छोरी पृन्सिका घरबाटै हराएको भन्दै प्रहरीमा जानकारी दिएकी थिइन् ।

पृन्सिका २८ साउनमा कोन्ज्योसोम गाउँपालिका–३ सिलिङ्गेबेसीमा पानीमा डुबेको अवस्थामा खोलामा मृत भेटिएकी थिइन् ।

घटना शंकास्पद लागेकाले प्रमिलालाई सोधपुछ गर्दा हत्या भएको खुलेको हो । प्रमिलाले रिसको झोकमा दुई थप्पड हिर्काउँदा अचेत भएपछि छोरीलाई खोलामा लगेर फालेको स्वीकार गरेकी छन् ।

आफूसँग विवाद भएपछि श्रीमान घर छाडेर आफन्तको घरमा बस्न गएका बेला घटना भएको प्रमिलाले बताइन् ।

कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत ललितपुरको अनुमतिले हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एसपी सुवेदीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us