बार, रेष्टुरेण्ट र होटलको बिल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत फिर्ता

काठमाण्डु टुडे २०८१ भदौ २४ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– उपभोक्ताले विभिन्न भुक्तानी गर्दा डेबिट र क्रेडिट कार्ड, क्युआर कोड र मोबाइलजस्ता विद्युतीय माध्यम प्रयोग गरेको खण्डमा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको १० प्रतिशत सम्बन्धित व्यक्तिले फिर्ता पाउने भएका छन् ।

रेस्टुरेन्ट, बार, होटल र लजमा नगदको साटो विद्युतीय भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था लागू गर्न लागिएको हो । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको छ ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा बार, रेस्टुरेन्ट, सबै प्रकारका होटल, लज र गेस्टहाउस जस्ता व्यवसाय रहेको उल्लेख गरेको छ । विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागले जनाएको छ ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्थाअनुरुप भ्याटको दश प्रतिशत फिर्तासम्बन्धी निर्णय भएको जनाएको छ । तर, त्यसका लागि मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने करदाता त्यस प्रणाली आबद्ध हुन सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us