एजेन्सी– उरुग्वेका फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
३७ वर्षीय सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । सुआरेजले उरुग्वेका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड राखेका छन् । उरुग्वेका लागि १ सय ४२ खेलेका उनले ६९ गोल गरेका छन् ।
सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सुआरेजले आफूले शुक्रबार पाराग्वेसँग राष्ट्रका लागि घरेलु मैदानमा विश्वकप छनोटअन्तर्गत अन्तिम खेल खेल्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै गर्दा उनी भावुक देखिए । सुआरेज सन् २००७ मा उरुग्वेको राष्ट्रिय टिममा सामेल भएका थिए ।
सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उरेग्वेले सन् २०११ मा कोपा अमेरिकाको उपाधि हात पारेको थियो । सुआरेज र लियोनल मेसीले २०१४ देखि २०२० सम्म बार्सिलोनामा खेलेका थिए ।
सुआरेजले अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागिसमेत खेलेका छन् ।