काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै प्रतिवाद गरका छन ।
नेता भट्टराईले बुधबार प्रतिनिधि सभामा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरू समयमै बन्न नसकेको बताएपछि माओवादी सांसदहरूले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।
त्यसपछि माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत योगेशलाई हतियार तस्करको आरोप लगाउनुका साथै भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल भएका छन ।
भट्टराईले सामाजिक सञ्जालबाटै माओवादीलाई जवाफ फर्काउँदै बिहीबार सामाजिक सञ्जालमा रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।
भट्टराईले यस्तो लेखेका छन्
निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुट्ने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्तचंदनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने तिमीहरूका यी कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ ।
तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु ।
तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन ।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन ।
चेतना भय !