काठमाण्डु, १२ भदौ– दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिन सफल भएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरेका हुन । दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो ।
तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्न सफल भएको हो । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गर्न सफल भएका थिए । उनले ८१ औं मिनेटमा गोल गरेका हुन । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो ।
तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्यो । नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन ।
खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । नवौं मिनेट निराजन धामीको लामो प्रहार बंगलादेशका मोहम्मद आसिफले मुश्किलले बचाए । उनले बललाई पञ्च गर्दै संकट टारेका थिए ।
१३ औं मिनेट निराजनको अर्को लामो तर बंगाली गोलकिपरलाई लागेर बाहिर गयो । नेपालले २१ औं मिनेटमा अर्को राम्रो अवसर गुमायो । निराजनले उपलब्ध गराएको पासमा अविनाश स्याङ्तानले फितलो प्रहार गरेका हुन ।
३० औं मिनेटमा सीमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ औं मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।