संसदमा एमाले र माओवादीको नोकझोक

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति व्यक्त गरेका हुन ।

डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो ।

विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो ।’ उनले अगाडि भने, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए ।

सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताएका छन । सभामुखले समय दिएपछि फेरि बोलेका भट्टराईले माओवादीको हिंसानै भएको बताएका छन ।

माओवादी सांसदहरुले विरोध गरिरहे । उनीहरुले हिंसा शब्द हटाउन माग गरे । सभामुखले पनि छानबिन गर्न सचिवालयलाई निर्देशन दिए । तर भट्टराईले प्रतिवाद गरे । उनले भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा केको छानबिन हुन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us