काठमाण्डु, १२ भदौ– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादी केन्द्रले नियमापत्ति जनाएको हो । भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए ।
त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए । सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए ।
सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति व्यक्त गरेका थिए । जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो ।
तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’ त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्त्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे ।
त्यसपश्चात् पनि सभामुख देवराज घिमिरेले भट्टराईलाई बोल्न दिएपछि माओवादीले विरोध जारी राख्यो । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।