काठमाण्डु, १२ भदौ– काठमाण्डु महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनलाई पक्राउ गरीएको हो ।
भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएको हो । बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए ।
मिनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । एमके कुमारलाई घटनास्थल नजिकैको रहेको उनको डेराबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिएका छन ।