काठमाण्डु, १२ भदौ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन । आज बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले यस्तो बताएका हुन ।
उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने पनि बताएका छन ।
प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरले बताएका छन । उनले भने, ‘तपाईंहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’ ।
महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने पनि बताएका छन ।
ट्राफिक प्रहरीमा १० बर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने पनि उनले बताएका छन । उनले भने, ‘यो वा त्यो बहानामा कहिले एउटा ढोका कहिले अर्को ढोकामा काम गरेको अवस्था छ, यो भत्काउनुपर्छ ।’
रुपन्देही अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यहाँ हुने प्रहरीको व्यवहारले विश्वभर सन्देश जाने पनि बताएका छन । रुपन्देहीमा पनि प्रहरीको व्यवहार आफूलाई चित्त नबुझेको भन्दै महानिरीक्षक कुँवरले राजस्व चुहावट भएकोमा असन्तुष्टी व्यक्त गरेका छन ।