काठमाण्डु, ११ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने बताएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार राईले यस्तो बताएका हुन ।
उनले संसद्को नियमावलीमा समेत व्यवस्था गरिएकाले सो समितिको नेतृत्व तत्काल प्रतिपक्ष दललाई उपलब्ध गराउन सरकारलाई दबाब दिएका हुन । उनले भने, ‘यो सरकार गठन भएको झन्डै २ महिना पुग्न लाग्यो ।
सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने हिजैदेखि चलन छ । नियमावलीमा त्यो व्यवस्था छ । तर यो सरकारले प्रतिपक्षलाई कहिले सार्वजनिक लेखा समिति दिन्छ रु मेरो प्रश्न छ ।
भ्रष्टाचारको सूचना दिने हदम्याद ५ वर्षको राख्न खोजिएको छ । यो भ्रष्टाचारीहरूलाई लुकाउने काम मात्रै भएको छ । यसमा म घोर आपत्ति व्यक्त गर्न चाहन्छु । भ्रष्टहरूलाई सरकारले कहिलेदेखि कारबाही गर्छ ?’