विश्वप्रकाश भन्छन्ः एमालेसँगका विमती ढाकछोप गरिए सरकार टिक्दैन

काठमाण्डु टुडे २०८१ साउन २६ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, २६ साउन– सत्तारूढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।
कांग्रेस र एमालेबीच विमतिका विषयमा थाती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ थियो ।
उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारूढ गठबन्धन नबनेको दाबीसमेत गरे ।

महामन्त्री शर्माले सत्तारूढ दलहरूबीच विमतिका कयौं विषयहरू रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने कुरा हुनै नसक्ने बताए । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए ।

महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं । हामीले जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा असहमत छ । राजनीतिमा यस्तो हुन्छ ।’

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महसुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।
उनले भने, ‘नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त । पार्टी नै हामी फरक हो नि त । विचार नै फरक हो नि त, पृष्ठभूमि नै फरक हो नि । फरक चिज मिल्दै गर्दाखेरी चुप चुप भत्किन्छ । केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने । एमालेका केही बोल्दाखेरी शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर एमाले चुप लाग्न थाल्ने । हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन । यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमति गरेर गएका छौं । जति विमतिका विषयहरू छन् । त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ ।’

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरूको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए । मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरूको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो । (न्यूज एजेन्सी नेपाल)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us