काठमाण्डु, २६ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले मुलुकको सम्पत्ति दुरुपयोग नगर्ने प्रष्टीकरण दिएका छन् ।
लायन्स क्लबले शनिबार राजधानीम गरेको कार्यक्रममा ओलीले आफूलाई राज्यबाट केही लिनु नभएको दाबी गरे । आफ्नो उद्देश्य मुलुकबाट गरिबी अन्त्य गर्ने र सुव्यवस्था कायम गर्ने रहेको उनको भनाइ थियो ।
नेपालमा अझै २० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको भन्दै उनले उनीहरुलाई आफ्ना छोराछोरीलाई पेटभरि खान दिन सक्ने बनाउनु आफ्नो लक्ष्य भएको जिकिर गरे । ओलीले त्यस्ता बालबालिका रोएको सम्झिएर आफूलाई आँशु आउने पनि दाबी गरे । ‘म राष्ट्रको सम्पत्ति वा सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु ?’, उनले भने, ‘म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’
नेपाललाई अविकसितबाट विकसित मुलुकमा स्तरोन्नती गर्ने, उत्पादकत्व वृद्धि गरी जनताको आम्दानी बढाउने, सुशासन कायम गर्ने र विकासको गतिलाई तीव्रता दिने मात्र आफ्नो उघद्देश्य रहेको दाबी ओलीले गरे ।