काठमाण्डु, २५ साउन– जनमत पार्टीले मधेस सरकारको मन्त्रिपरिषद जम्बो बनाएकामा मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीसँग समन्वय नै नगरी मुख्यमन्त्रीले ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेकामा आपत्ति जनाउँदै उनीसँग प्रष्टीकरण सोधेको हो ।
सिंहले मधेसमा २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । जनमतका प्रवक्ता शरदसिंह यादवले संघीयतामाथि नै प्रश्न खडा हुने र राज्यलाई भार पर्ने गरी मन्त्रिपरिषदको आकार अनावश्यक ठूलो बनाउनुको कारण माग गरेर स्पष्टीकरण सोधिएको बताए । यस्तै उनले मुख्यमन्त्री सिंह काममा भन्दा औपचारिक समारोह र उदघाटनमा व्यवस्त भएकामा पनि पार्टीले उनीसँग स्पष्टीकरण मागेको छ ।
यादवका अनुसार प्रदेशसभा सदस्यहरुका सिफारिसमा बजेटमार्फत जनही पाँच करोड रुपैयाँ विनियोजन गरेकामा पनि जनमतले आपत्ति जनाएको छ । मुख्मन्त्रीसहति १२ मन्त्रालय रहेको मधेसमा यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३ र लोसपाले एक मन्त्रालय लिएका थिए ।
यस्तै तीन जना राज्यमन्त्री सुरुमै थिए । केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले ५ जना राज्यमन्त्री थप गरेका थिए । श्रोतका अनुसार पार्टी नीतिविपरीत काम गरेको तथा ठूलो संख्यामा मन्त्रिपरिषद गठन गरी संघीयताकै अपमान गरेकाले सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउने विषयमा जनमत पार्टीभित्र मत बलियो बन्दै गएको छ ।
अध्यक्ष सिके राउत सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउने मनस्थितिमा रहेको एक नेताले जानकारी दिए ।