गभर्नरले पछिल्लो समय फरक व्यवहार देखाउनुभयो: पूर्वअर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८१ साउन २४ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, २४ साउन– पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय केन्द्रीय बैंक र गभर्नरले फरक व्यवहार देखाएको आरोप लगाएका छन ।

आज (बिहीबार) अर्थ समितिको बैठकमा पूर्वमन्त्री पुनले यस्तो बताएका हुन । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको उनले आरोप लगाएका छन ।

उनले भने, ‘हामी जनप्रतिनिधि हौँ, सत्य बोल्नुपर्छ । पछिल्लो समय गभर्नर साबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेसको पालामा र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।

तर, अहिले उहाँ आफू निकट सरकार छ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो ।’ धितोपत्र बजार बढ्नु राम्रो भए पनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनले आरोप लगाए । ‘सेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने थियो तर हटाइएन ।

अहिले मौद्रिक नीतिमार्फत हटाइयो राम्रो भएको छ उनले बताएका छन । पुँजी बजारको सन्दर्भमा फेयर कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us