काठमाण्डु, २३ साउन– प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
उपत्यका मेयर्स फोरमका प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा ओलीले जनप्रतिनिधिले ‘को भन्दा को ठूलो’ शैलीमा अहंकार र दम्भ देखाउन नहुने बताए । जनताका पक्षमा काम गर्नुपर्नेमा अहंकार र दम्भबाट निर्देशित भएर नहिंड्न पनि भने ।
उनले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि दमन गर्न काम रोक्न माग गरे । ओलीले शालीन र विनयशील व्यहार गर्नुको साटो जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार जनप्रतिनिधिलाई नभएको उल्लेख गरे ।
सडकमा जनताले गरेका गुनगान सक्कली हुने भए पनि सामाजिक सञ्जालमा नक्कली आईडीबाट गरिएका प्रशंसा दिगो नहुने हेक्का जनप्रतिनिधिमा हुनुपर्ने उनको भनाइ थियो ।
फरक प्रसंगम उनले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, सहकार्य र संवादबाट मात्र संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सकिने बताए । प्रतिनिधि मण्डलमा काठमाण्डुका मेयर साह सहभागी थिएनन् । उपप्रमुख सुनिता डंगोल भने सहभागी भइन् ।