भतिजालाई रोकेर शाहलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन देउवाको निर्देशन

काठमाण्डु टुडे २०८१ साउन २० गते ८:५३ मा प्रकाशित

काठमाण्डु, २० साउन– प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुने भएका छन् ।

काँग्रेस–एमालेबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिमा सुदूरपश्चिम काँग्रेसको भागमा परेको थियो । काँग्रेसबाट मुख्यमन्त्रीमा शाहसहित देउवाका भतिज प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी थिए ।

आरजु राणाका पूर्वस्वकीय सचिव प्रकाश यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । पूर्वमुख्यमन्त्री शाह एमाले–माओवादी गठबन्धनपछि विश्वासको मत पाउन नसकेर पदमुक्त भएका थिए ।

शाह काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेतासमेत हुन् । यसअघि देउवाले चारै आकांक्षीलाई बुढानिलकण्ठ बोलाएर छलफल गरेका थिए । देउवाको निर्देशनपछि तीन जना पछि हटेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने निश्चित भएपछि शुक्रबार पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री चयनको तयारी भएको हो । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरेका छन् ।

मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । एमाले र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us