काँग्रेस–एमाले सरकार बनेपछि जनतामा उत्साह पैदा भएको छः योगेश

काठमाण्डु टुडे २०८१ साउन १९ गते २०:३३ मा प्रकाशित

काठमाण्डु, १९ साउन–एमाले सचिव योगेश भट्टराईले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि जनतामा उत्साह पैदा भएको दाबी गरेका छन् ।

ताप्लेजुङ सेवा समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले मुलुकलाई प्रयोगशाला बनाउनबाट जोगाउन दुई ठूला दल मिलेको तर्क गरे । दुई ठूला दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको भन्दै उनले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी गरे ।

यद्यपि संविधान संशोधन गर्दा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुलाई समेत साथमा लिएर अघि बढ्ने पक्षमा आफूहरुको रहेको बताए । राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन र संविधानलाई गतिशील बनाउन संविधान संशोधन गर्न लागिएको दाबी उनको थियो ।

‘दुई ठूला पार्टीहरु एउटै सरकारमा बसिरहेका छौं । पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौं । नेपाललाई धेरै प्रयोगशाला नबनाऔं । पटकपटक प्रयोगशालाहरु हुँदै आयो । अब फेरि अर्को प्रयोगशाला नबनाऔं देशलाई’, उनले भने । काँग्रेस र एमाले एक अर्काका प्रतिस्पर्धी र इतिहासका निर्माता भएको उनले बताए ।

‘हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ । अर्थ तन्त्रलाई लयमा फर्काउनु छ । राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ । विदेशी मित्रहरुको विश्वास जितेर देश भित्र लगानीको वातावरण बनाउनुछ’, भट्टराईले भने ।

सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास उनले व्यक्त गरे । सरकारले दुवै छिमेकी मुलुक चीन र भारतको समृद्धिबाट नेपालले फाइदा लिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us