शिकार खेल्न जाँदा गोली लागेर मृत्यु, दुईजना पक्राउ

काठमाण्डु टुडे २०८१ साउन १९ गते १२:४६ मा प्रकाशित

डोटी, १९ साोउन- डोटीमा जंगली जनावर शिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ ।

 जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा शिकार खेल्न गएका ३० वर्षीय अमर थापाको मृत्यु भएको हो ।

डोटी प्रमुख एसपी विष्णुहरि कोइरालाका अनुसार साथीले हानेको गोली थापालाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कोइरालाले बताए ।

उनीसँगै गएका पूर्वीचौकी  गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउद पक्राउ परेका छन् ।

डोटीको नारीदाङमा धानबारीमा लुकेको अवस्थामा शुक्रबार राति १० बजेतिर पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us