काठमाण्डु, १८ साउन– एमाले छाडेका पूर्वमन्त्री मणिचन्द्र थापा स्कुलिङ नमिलेका काण पार्टीमा बस्न नसकेको बताएका छन् ।
थापाले अब के गर्ने भन्नेबारे सरसल्लाह गरेर निर्णयमा पुग्ने बताए । आफू माओवादी स्कुलिङबाट आएको भन्दै उनले माओवादी र एमाले स्कुलिङमा धेरै भिन्नता पाएको बताए ।
‘म जुन स्कुलिङ र पृष्ठभूमिबाट राजनीतिमा आएँ त्योसँग एमालेको स्कुलिङ मेल खान नसकेका कारण पार्टीमा बस्न सकिन’ थापाले काठमाण्डुटुडेसँग भने । यद्यपि आगामी दिनमा माओवादी राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे निर्णयमा पुगिनसकेको उनको भनाइ थियो ।
थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् । थापाले एक वर्षअघि नै आफूले पार्टीमा काम नगर्ने जानकारी दिएको भए पनि बिहीबार मात्र एमालेले आफूलाई औपचारिक रुपमा बिदा गरेको जानकारी सञ्चार माध्यममार्फत पाएको बताए ।
थापाले छाडेपछि रिक्त स्थायी समिति सदस्यमा बसेरा होटलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मुकुन्द न्यौपानेलाई मनोनित गरेको छ ।
तत्कालीन नेकपामा विभाजन भएपछि पूर्वमाओवादी पृष्ठभूमिका थापा एमालेमै बसेका थिए । एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति थापा असन्तुष्ट थिए । उनले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।