काठमाण्डु, १८ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन । आज शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामा दिएका हुन ।
उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका छन । उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन।
विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,’ प्रदेशसभामा सम्बोधन गर्दै उनले भनेका छन् । घोषणा गरेलगत्तै मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका हुन ।