काठमाण्डु, १८ साउन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन ।
आज (शुक्रबार) न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन । उनले विगतमा पनि पटक–पटक टीआरसीको अन्तरवस्तुमा सहमति भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन ।
उनले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको पनि बताएका छन । महासचिव गुरुङले सहमति कार्यान्वयन गर्नका लागि दलहरूलाई आग्रह समेत गरे ।
उनले टीआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरेका छन । उनले भने, ‘टीआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो ।
१७/१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने । सहमति गर्ने फेरि उल्टिने, सहमति गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७/१८ वर्ष बित्यो ।
त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’