एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

काठमाण्डु टुडे २०८१ साउन १७ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, १७ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय मुख्यालय आलोकनगरमा बस्ने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिएका छन ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली आज साँझसम्म तयार गर्ने समयसीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us